महासंघलाई आघात पार्ने गरी समानान्तर काम गर्ने हो भने अर्जून जी लाई महासंघ छोड्न मैले मात्र होइन सरकलका साथीभाईले पनि भनेका छन्

नेपाल सुनचाँदी व्यवसायी महासंघको दोस्रो महाधिवेशन पछि महासंघको कामकारवाही र गति खस्कदै गइरहेको छ । महासंघको प्रथम अध्यक्ष मणिरत्न शाक्यको टिमले बनाएको जगलाई मजबुत बनाउनुपर्ने दायित्व दोस्रो महाधिवेशनमा अध्यक्ष बनेका मोहन विश्वकर्माको थियो तर घोषणापत्रमा उल्लेख गरे अनुरुप आशातीत काम गर्न नसकेपछि विश्वकर्माले महासंघको भित्तामा एउटा अध्यक्षको फोटो टाँस्ने उपलब्धी वाहेक अरु प्रगति नहुने देखिएको छ । यहाँसम्मकी महासंघका उपाध्यक्ष अर्जून रसाईली यतिबेला विश्वकर्मा सुनचाँदी व्यवसायी संजाल नामक जातिय संगठनको संयोजक बनी संजाललाई कम्पनी हो भन्दैं महासंघका पदाधिकारीको आँखामा दिउँसै रात पारेर आरामले महासंघको समानान्तर संगठनको अभ्यास गरिरहेका छन् ।  पछिल्लो समयमा विश्वकर्मा सुनचाँदी व्यवसायी संजालले जिल्ला,नगर,प्रदेशस्तरका कमिटी बनाउन थालेपछि भने महासंघकै पदाधिकारीहरु संशकीत भएर बल्ल खुलेर रसाईलीको कदमको आलोचना गर्न थालेका छन् । संजालको गतिविधिका कारण विश्वकर्मा सुनचाँदी व्यवसायीहरुवीचनै फुट र धुव्रिकरण उत्पन्न हुनथालेपछि महासंघका उपाध्यक्ष तथा प्रदेशनम्बर ५ का संयोजक प्रेमकुमार सेन्चुरीले व्यवसायीहरुको वीचमा द्धन्दको अवस्था आउने आकंलन गर्नुभएको छ । प्रस्तुत छ सेन्चुरीसँग आभूषण बजार पत्रिकाले गरेको कुराकानीको सारसंक्षेप ।

नेपाल सुनचाँदी व्यवसायी महासंघमा पछिल्लो समय व्यवसायिक हितका विषय कुनै पनि कार्यक्रमहरु हुन सकेका छैनन । दोस्रो महाधिवेशनपछि अव व्यवसायीको हितमा निकै काम गरिन्छ भन्नुभएको थियो किन गतिविधि शून्यप्रायः देखिन्छ नी ? 

व्यवसायिक हितका विषयमा कार्यक्रमनै भएनन् भन्ने त होइन तर तुलनात्मकरुपमा पछिल्लो समय भने त्यति कामहरु हुन नसकेको हो,यसलाई मैले मात्र होइन सवैले स्विकार गर्नुपर्छ जस्तो लाग्छ । दोस्रो महाधिवेशनपछि हामीले महासंघको तयार भएको फाउण्डेशनलाई अझ बलियो बनाएर लैजाने र व्यवसायीको वृहत्तर हितको लागि काम गर्ने भनेका थियौं सोही मुताविक सहमतीमै हामीले मोहन जीलाई नेतृत्व सुम्पीएको थियौं । व्यवसायीको वीचमा द्धन्द निम्ताउनुहुँदैन भन्ने हिसावलेनै अध्यक्षका दाबेदार माणिक जी सहमतीमै कागजनै गरेर नेतृत्व मोहनजीलाई प्रदान गरेको हो । उपत्यका वाहिरबाट त्यसमा पनि बहुसंख्यक सुनार समुदाय रहेको सुनचाँदी क्षेत्रबाटनै यसक्षेत्रमा अझ थप राम्रो हुन्छ भन्ने हेतुले मोहनजीलाई नेतृत्वमा उभ्याइएको थियो । माणिकजी त्यतिबेला निकै उदारताका  साथ आफ्नो इमान्दारीता प्रस्तुत गरेर नेतृत्व उहाँलाई प्रदान गर्नुभएको थियो । मोहनजीको कार्यकाल पनि अव सकिन लाग्ने वेला आइसक्यो तर हामीले यो क्षेत्रको विकासको लागि जे सोचेर इमान्दारीताका साथ व्यवसायीहरु फुट्नुहुँदैन भनेर सहमतीमा माणिकजीलाई वेटिङ अध्यक्षको रुपमा राखेर नेतृत्व सुम्पिएका थियौ आज त्यो अनुरुप काम नहुँदा मलाई मात्र होइन आम व्यवसायीलाई पनि दुःख लागेको छ । सुरुवातको दिनमा पदाधिकारीको वैठक देखि लिएर कामका खाँका कोर्ने, देश दौडाहा र सचेतना कार्यक्रम नभएका होइनन् तर आज ती न्यूनतम कार्यक्रमहरुलाई पनि हामीले लान सकिरहेका छैनौ ।

तपाईहरुलाई के ले छेक्यो काम गर्न महासंघका कार्यक्रमहरुलाई अगाडि बढाउन सक्नुभएको छैन ? 

प्रथम कुरो त सुनार समुदायबाट मोहनजी प्रति जुन आशा थियो यो दुईवर्षको वीचमा लगभग समाप्तनै भइसक्यो भन्दा हुन्छ । नेतृत्वले जुन किसिमको लगाम लगाएर टिमलाई सशक्त बनाउनुपथ्र्यो र सवै किसिमका वर्ग समुदाय रहेको सुनचाँदी व्यवसायीहरुलाई समेटर महासंघलाई बलियो बनाएर व्यवसायिक हितमा कार्यक्रम बनाएर लानुपथ्र्यो त्यो देखिएन । यो कुरा मैले आलोचना गर्न मात्र भनेको होइन आज व्यवसायीहरुले जतिपनि समस्या र दुःख पाइरहेका छन् त्यहि पंक्तीका व्यवसायीले समेत भन्ने कुरा हो यो ।

मैले भनिरहनुपदैन तपाईहरुले पनि छर्लङनै देखिरहनुभएको छ नी महासंघको वृद्धि विकासमा लाग्नु पर्ने वेलामा हामी पदाधिकारी मध्येका साथीहरुको गतिविधि अन्यत्र मोडिएको । महासंघका जिम्मेवार पदाधिकारी महासंघकै छत्रछायाँमा रहेर व्यवसायीक हितका लागि कार्यक्रम गर्नुपर्ने हो तर महासंघकै उपाध्यक्ष अर्जून जी जुन सिमित जातीलाई मात्र समेटेर संजालको नाममा समानान्तर संगठनको अभ्यास गर्नुभएको छ यसमा हाम्रै महासंघका संगठनका विभिन्न तहमा रहेका पदाधिकारीहरुलाई तान्ने काम भएको छ यसले महासंघको कार्यक्रमहरुलाई प्रभाव पारेको छ । हामीले विभिन्न जिल्लाहरुमा व्यवसायी सचेतना कार्यक्रम गर्दै गइरहेका थियौं अहिले संजालको कारणले गर्दा व्यवसायीहरुको ध्यान उतातिर डाईभर्ट भएको छ । सुनचाँदी व्यवसायीहरुनै विभाजित मानसिकतामा भएको वेलामा महासंघको भावि कार्यक्रम कसरी लाने भन्नेमा चुनौति थपिएको छ ।

अर्जून जीहरु नितान्त विश्वकर्मा सुनचाँदी व्यवसायी संजाल कम्पनी हो भन्नुभएको छ । यसले विश्वकर्मा सुनचाँदी व्यवसायीहरुको सिप पेशालाई प्रवद्र्धन गर्दै गहनाहरुको उत्पादन गर्ने भन्नुभएको छ । यसलाई तपाईहरुले पनि साथ दिदा के हुन्छ र ? 

मैले उहाँहरुको योजनालाई नराम्रो कहाँ भनेको छु र तर अलिकति काम गर्ने तरिकामा शैली मिलेको छैन मात्र भन्न खोजेको हुँ । उहाँहरुले मलाई पनि जिम्मेवारी लिन आग्रह गर्नुभएकै हो तर मैले तेस्रो महाधिवेशनसम्म म साथ दिन सक्दिन भनेर स्पष्ट भनेको छु । अर्जून जीहरु भन्दा कम्पनी भन्नुहुन्छ तर उहाँहरुको संजाल बनाउने शैली महासंघकै जस्तो संघीय संरचनामा नगर,जिल्ला,प्रदेश भेला गर्दै संजालको विस्तार गर्नुभएको छ । विश्वकर्मा सुनचाँदी व्यवसायी भन्दा अलिकति जातियतारुपमा जान्छ । सवै समुदायका व्यवसायीहरुलाई समेटेको भए राम्रो हुने थियो । अर्को कुरा उहाँहरुको कार्ययोजना ठुलो भेग सरकारको नीति तथा कार्यक्रम जस्तै छ । कुनै एनजिओको जस्तो हिसावबाट कार्यक्रमको मोडालिटी बनाउन खोज्नु भएको छ । नेपालमा यसरी काम गर्ने विज्ञहरु देखि प्रणाली अझै अभाव देखिन्छ यस कारणले १ अर्व उठाएर काम अगाडि बढाउने जुन कुरा गर्नुभएको छ अहिलेको अवस्थामा सफल हुन सक्ने म देख्दीन । व्यवसायीहरुलाई आफ्नै पसलमा समयदिन गाहे भईरहेको अवस्थामा यो महत्वाकांक्षी योजना कुद्नको लागि त्यति समय छैन जस्तो मलाई लाग्दछ । अर्को कुरा उहाँहरुको यत्रो पुँजी संकलन हुने योजनामा अहिलेको कोटा प्रणालीमा उहाँहरुको कम्पनीलाई चाहिने जति सुन उपलब्ध गराउन सक्ने अवस्था पनि छैन । उहाँहरुले सरकारसँग माग्ने भन्नुभएको छ सिजनमा ५ केजी सुन बढाउन आलटाल गर्ने राज्यले कसरी उहाँहरुलाई सुन दिएर योजना सफल हुन्छ यसमा जो आवेगमा सामेल भइरहनुभएका हाम्रै महासंघका साथीहरु गहन ढंगबाट सोच्नुहोला ।

साथीहरुले महासंघमा आफ्नो हैषियतको जिम्मेवार वहन नगर्दा अहिले महासंघलाई जुन व्यवसायीहरुको वृहद् र शक्तिशाली संगठन बनाउने सपना हामीले देखेका थियौ त्यो अहिले कम्जोर बनेको छ । अर्जून जीलाई अहिलेको क्रियाकलापले महासंघको आगामी महाधिवेशनमा फाइदा पनि पुराउला तर व्यवसायीहरुको वीचमा यतिबेला जातिय विग्रहको दरार उत्पन्न भएको छ । यसलाई ओखतीमूलो नगर्ने हो भने महासंघमा संकट आउने मैले देखेको छु । अर्जून जीले नैतिकताको आधारमा महासंघमा पनि खुट्टो राख्ने समानान्तर अभ्यास भइरहेको संजालको पनि नेतृत्व गर्दा व्यवसायीहरुमा विग्रह आउने हुन्छ । मेरो मात्र होइन साथीहरुको सरकलले समेत उहाँले महासंघको उपाध्यक्षबाट राजिनामा दिदानै वेश हुन्छ जसबाट वरु उहाँलाई आफ्नो काम गर्न सहज होला ।

प्रतिक्रिया दिनुहोस्