काठमाडौं । सुनचाँदी पेशामा तामाङ समुदायको समेत आर्कषण बढ्दै जान थालेको छ ।
सुनचाँदी पेशामा खासगरी सुनार, नेवार समुदायका व्यक्तिहरुको अग्रणीरुपमा सहभागिता रहदै आएको भएता पनि पछिल्लो समयमा तामाङ समुदायमा समेत यो पेशाप्रति आर्कषण बढ्न थालेको हो । काठमाडौंमा हाल ३५ भन्दा बढीको संख्यामा तामाङहरुको सुनचाँदी पसल रहेको नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका विशिष्ट सदस्य समेत रहनुभएका मीनबहादुर तामाङले बताउनुभयो ।
उहाँका अनुसार २०४२ सालबाटनै तामाङहरु सुनचाँदी पेशामा कुनै न कुनै रुपमा सामेल भएको उहाँले बताउनुभयो । काठमाडौंका हेमबज्र शाक्यले अहिले पेशामा सामेल भएका अधिकांस तामाङहरुलाई यो पेशा सिकाएको मीनबहादुर तामाङले बताउनुभयो । हामीलाई सीप सिकाउने गुरु हेमबज्र शाक्य लगायतका व्यक्तिहरुको घर धादिङ सेर्तुङमा पनि रहेको छ यस कारणले पनि उहाँले हामीलाई मायाँ गरेर यस पेशामा आर्कषण गर्नुभएको तामाङले आभूषण बजार पत्रिकालाई बताउनुभयो । हाल अहिले काठमाडौंको बाईसधारा,नयाबजार,गोंगबु,सामाखुशी लगायतका क्षेत्रमा तामाङ समुदायका सुनचाँदी व्यवसायीहरुको पसल रहेको छ । तामाङ समुदायको पनि आफ्नै मौलिक गहना रहेको छ । तामाङ समुदायमा ठूलो हिस्साको रुपमा गहनाको माग रहेको छ यस कारण पनि हामी पछिल्लो समयमा आफ्नो समुदायलाई समेत आवश्यक पर्ने मौलिक परम्पराका गहनाहरु जगेर्ना गर्न लागि परिरहेको च्याम्रादेवी सुनचाँदी पसल नयाँबजारका संचालक समेत रहनुभएका मीनबहादुर तामाङले बताउनुभयो । सुनचाँदी पेशामा अहिले सयौको संख्यामा तामाङ समुदायबाट कालिगढ र व्यवसायीहरु रहेका छन् । स्वदेशमा मात्र नभएर विदेशमा समेत तामाङ कालिगढहरु रहेको पाइएको छ ।
३४ वर्ष देखि सुनचाँदीकै काममा लालमान तामाङ
लालमान तामाङको स्थायी घर रुबिभ्याली गाउँपालिका धादिङ हो । सुनचाँदी पेशामै लागेर उहाँले आफ्नो केश फुलाइसक्नुभएको छ । उहाँले यो पेशा अंगालेको ३४ वर्ष भइसकेको छ । सुरुमा उहाँको गाउँमा शाक्य समुदायको व्यक्तिहरुनै पुग्नुभएको थियो उहाँहरुकै पदचाप समातदै अघि बढ्दा असनमा आएर काम सिक्न सुरु गरेको तामाङ बताउनुहुन्छ । १० वर्षसम्म असनमै काम गरेर २०५० सालदेखि आफुनै पसल सुरु गरेको उहाँले बताउनुभयो । नेपाली तथा आधुनिक गहना आफै तयार गर्न सिपालु भएको तामाङ बताउनुहुन्छ । हाल उहाँले सामाखुशी रेडनकलेज छेउबाटनै लाल सुनचाँदी पसलबाट आफ्नो कारोवार गर्दै आउनुभएको छ । खासगरी आफुले टप,सिक्री,झुम्का,तिलहरी,नेकलेस,बाला,जन्तर लगायतका गहना बनाइरहेको बताउनुहुन्छ यसको अलवा पुरानो मौलिक गहनाहरु चेप्टे सुन,लाहुरेफुली आदि पनि राम्रो सँग बनाउन सक्ने लालमान तामाङ बताउनुहुन्छ ।
पूर्खौली पेशा सुनचाँदी नभएता पनि कसैको प्रेरणाबाट यो पेशा गरे सिकिदो रहेछ भन्ने आफुलाई लागेको उहाँले बताउनुभयो । सुनचाँदी पेशाबाट आफु सन्तुष्ट भएको भन्दैं उहाँले केही समस्या भएता पनि यसलाई समाधान गरी अघि बढ्ने सकेको खण्डमा आफ्नो समुदायका नयाँ पुस्तालाई पनि यो पेशामा आर्कषण गर्न सकिने तामाङ बताउनुहुन्छ ।
पेमा तामाङ भन्छन् सुनचाँदी पेशानै पहिचान बन्यो
पेमा तामाङको घर पनि धादिङनै हो । सुरुवातमा आर्थिक अवस्था निकै कम्जोर थियो यसकारण पनि जीवन गुजारा गर्न केही न केही गर्न प¥यो भन्ने तामाङलाई लाग्यो । १३ वर्ष अघिनै नेवार समुदायकै प्रेरणाबाट आफुले यो सिप सिकेको उहाँले बताउनुभयो । जव सीप सिकेर केही गर्न सक्छु भन्ने आत्माविश्वास बढ्दै गएपछि २०६६ सालदेखि सामाखुशी आर्शिवाद कलेज क्षेत्रबाट आफुले पेमा गहना गृहको नामबाट पसल सुरु गरेको बताउनुभयो । आफ्नो समुदायका मात्र नभएर सवै समुदायका व्यक्तिहरुलाई आफुले सिकेको सीप उपयोग गर्दै सेवा दिइरहेको छु तामाङले आभूषण बजार पत्रिकालाई भन्नुभयो । हाल आएर आफुले सिक्री,औंठी,चाँदीका औंठी,बाला,ब्लूम्म माला लगायतका गहना बनाउने गरेको पेमा तामाङले बताउनुभयो । अहिलेसम्म सुनचाँदी पेशाबाटनै रोजी रोटी चलेको भन्दैं यो पेशालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा राम्रो सम्भावाना भएको उहाँको अनुभव रहेको छ । आफुले सिकेको सीप परिवारका सदस्यहरुलाई पनि सिकारहेकाले आगामी दिनमा आफ्नो पहिचाननै सुनचाँदी व्यवसायीनै पहिचान बन्दैं गएको खुशी लागेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्