आभूषण संवाददाता
भाद्र २३ गते नेपालको राजनीतिक क्षेत्रमा अभूतपूर्व विद्रोह र जनआक्रोश उत्पन्न भयो । सुशासन र भ्रष्टचारको अन्त्य र फेसवुक लगायतका सामाजिक संजालमा लगाइएको प्रतिवन्धको विरुद्ध जेनजीहरुको आहवानमा माईतीघरमा आयोजना गरिएको प्रर्दशन एकाएक निशेषधाज्ञा तोडेर वानेश्वर संसद भवन तर्फ अगाडी अनियन्त्रीत वनेको थियो । प्रर्दशनकारीहरु संसद भवन तर्फ अगाडि वढ्न थालेपछि प्रहरीले समेत वल प्रयोग गरेको थियो । सो क्रममा प्रहरीको गोलीबाट दर्जनौ प्रर्दशनकारीहरुको ज्यान गएको थियो । साना बालवालिकालाई राज्यले अन्धाधुन्द गोली प्रहार गरी हत्या गरेको भन्दैं २४ गते एकाएक भएको हिंसात्मक आन्दोलनमा सिंहदरवार, राष्ट्रपति भवन ,संसद भवन,सर्वोच्च अदालत देखि प्रहरी कार्यालयहरु, नेताहरुको घर देखि व्यापारीहरुको उद्योग प्रतिष्ठान समेत तोडफोड र आगजनि भएको थियो ।
को हुन सुनचाँदी कालिगढ सहिद सन्तोष लुहार विश्वकर्मा ?
भाद्र २३ गतेको जेनजी प्रर्दशनको क्रममा प्रहरीको गोलीबाट सहादत प्राप्त गर्नुभएका २९ वर्षीय सन्तोष लुहार विश्वकर्मा एक कुशल बुट्टाको काम गर्ने कालिगढ हुनुहुन्थ्यो । उदयपुर वेलका नगरपालिका–४ रामपुर स्थायी घर हुनुभएका लुहार करिव ९ वर्ष देखि काठमाडौंमा रहेर कालिगढ काम गर्दै आइरहनुभएको थियो । सीप सिकिसकेपछि साहुँहरुको अर्डरको काम गर्दै आइरहनुभएका विश्वकर्मा पछिल्लो समय भने छुट्टै कोठा लिएर वानेश्वरमा काम गर्दै आइरहनुभएको थियो ।
यस अघिको केपी ओली नेतृत्वको सरकारले लगाएको सुनको विलासिता करको कारणले आन्दोलनमा सक्रिय भएका लुहार पछिल्लो समय व्यापार कम हुँदा पनि मानसिक रुपमा दवावमा पर्नुभएको थियो । विलासिता करको आन्दोलन असफल भएपछि लुहारमा ओली सरकारप्रति वितृष्णा र आक्रोशको भाव पैदा भएको थियो । सोही भावानाले पनि लुहारले जेनजी आन्दोलनमा पहिलो पंक्तीमा रहेर सक्रिय सहभागीता जनाउनुभएको थियो । प्रर्दशनकै क्रममा संसद भवन अगाडि भीड अनियन्त्रीत भएपछि प्रहरीको गोली लागी ट्रमा सेन्टर ल्याउने क्रममा बाटोमै निधन भएको बताइएको छ ।
जेन्जी आन्दोलनमा सहिद हुनुभएका लुहारको श्रीमति एक जना १० वर्षीय छोरा र ८ वर्षीय छोरी रहेकी छिन । लुहारको सहादत सँगै परिवार यतिवेला गहिरो शोकमा डुवेको छ ।
कालिगढ संघ र संघर्ष समितिबाट परिवारलाई सहयोग
आर्थिक रुपमा पनि कम्जोर रहनुभएका सहिद लुहारको परिवारलाई सुनचाँदी व्यवसायी तथा कालिगढहरुले आर्थिक सहयोग गरेका छन् । नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले एक लाख १ हजार १०५ रुपैया सहयोग गरेको संघका केन्द्रिय अध्यक्ष अर्जून विश्वकर्माले वताउनुभयो । प्रधानमन्त्री शुशीला कार्कीलाई वालुवाटारमा भेटेर सहिदको सम्मानमा आवश्यक पिडित परिवारको लागि आवश्यक भरणपोषण उपलब्ध गराउन माग गरिएको अध्यक्ष विश्वकर्माले वताउनुभयो ।
अन्यायको विरुद्धमा लड्ने स्वभावका सन्तोषलाई आफुले नजिकबाट भाईको रुपमा चिन्ने अवसर पाएको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघका संस्थापक अध्यक्ष तिलक विश्वकर्माले वताउनुभयो । वेथितीका विरुद्ध सन्तोषले वगाएको रगत खेर जान नदिने विश्वकर्माको भनाई छ ।
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले समेत परिवारलाई भेटी समवेदना व्यक्त गर्दै ७४ हजार १०० रुपैया सहयोग गरेको समितिका सदस्य सचिव टंक वराईलीले वताउनुभयो । विलासिता कर र भ्याट विरुद्ध आन्दोलन गर्दा गर्दै जेन्जी आन्दोलनमा सहिद हुनुभएका सन्तोष लुहार विश्वकर्मा प्रति उच्च सम्मान सहित आभूषण बजार पत्रिका शोकाकुल परिवार जनमा समवेदना र सहिद लुहार प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दर्छौ ।
प्रतिक्रिया दिनुहोस्