न्यूरोडका सुन पसल कर्मचारी आन्दोलित,यस्तो छ माग

काठमाडौं, । सुनचाँदी हीरा गरगहना कामदार तथा श्रमिक समुह काठमाडौंले विशालबजार,न्यूरोड क्षेत्रमा केही सुनचाँदी पसलले शनिवार पसल वन्द गर्ने निर्णय उल्लंङन गर्न खोजेको भन्दै त्यसो गरिए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
शनिवार साप्ताहिक विदा पाउनुपर्ने लगायतका ८ बुद्धे माग प्रस्तुत गर्दै समुहले पसलले मागका वारेमा उचित सम्बोधन नगरिए आन्दोलन सम्म उत्रन तयार रहेको जनाएको छ । साथै श्रमिक समुहले एक दिनमा ८ घण्टा काम,ओभरटाईमको तलव सुविधा,विदेशी नागरिक कानुन सम्मत नपुराई काममा राख्न नपाईने,बिमा,पिएफ,महिला कर्मचारीको लागि सूर्यास्तपछि पुराउन यातायातको उचित व्यवस्था सहितको माग संघहरुलाई प्रस्तुत गरेको हो । समुहले नेपाल रत्न तथा आभूषण संघ,काठमाडौं सुनचाँदी व्यवसायी संघ लगायतलाई पत्र पठाउँदै उक्त सेवा सुविधा प्रदान गर्न पहल गर्न माग गरेको हो । साथै श्रमिक समुहले सुनचाँदी व्यवसाय क्षेत्रको सामाखुशीमा हुने राष्ट्रिय भेलामा पनि आफुहरुको मागलाई ध्यानाकर्षण गराउने जनाएको छ ।
शनिवार पसल बन्द गर्ने निर्णय कार्यान्वयन भईरहेको भएता पनि केही पसलले फेरी खोल्ने प्रयास गरेको भन्दै एक दिन विदा सहित हुनुपर्ने लगायतका माग समुहले गरेको हो । सुनचाँदी हीरा गरगहना कामदार तथा श्रमिक समुहको मागलाई सम्वोधन नगरिए आफ्नो हक अधिकारको लागि राज्य,ट्रेड युनियन देखि सरोकार पक्ष सवैलाई ध्यानाकर्षण गरेर चरणवद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्