दलित पत्रकार संघ तनहुँको अध्यक्षमा नेपाली

दमौली ।  राष्ट्रिय  दलित पत्रकार संघ नेपाल तनहुँ शाखाको पहिलो अधिवेशन तथा जिल्ला भेला शनिवार सम्पन्न भएको छ ।  सो भेलाबाट राष्ट्रिय दलित पत्रकार संघ तनहुँ गठन गरीएको छ  । ब्यास नगरपालिका १३ आपस्वारा स्थित दलित सामुदायिक होमस्टेमा सम्पन्न अधिवेशनले  सानेबहादुर नेपाली को अध्यक्षतामा नयाँ नेतृत्व  चयन गरेको  नवनिवार्चित संघका सचिव अशोक विश्वकर्माले जानकारी दिनुभयो  । उहाँका अनुसार समितिको उपाध्यक्षमा भिमाद एफ.एम.का शालिकराम गहतरात, सचिवमा रेडियो नेपालका अशोक विश्वकर्मा, कोषाध्यक्षमा तनहुँ टेलिभिजनकी सविता विश्वकर्मा र सह–सचिवमा भिमाद एफएमकी मनिषा कोइराला विक चयन भएका छन् । यस्तै सदस्यमा अन्जान परियार, सुरेश सुनार, कोपिला सुनार, शर्मिला विक, प्रकाश विक, अमृत परियार, देव गजमेर र मुना विक चयन भएका छन् । सोही अधिवेशनले विनोदकुमार विक (विकास), जनार्दन वियोगी, सन्तोष विक, सम्झना रसाइली र विनोद सेन्चुरीलाई सल्लाहकार चयन गरेको छ । अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य डोवाटे विश्वकर्माले दलित समुदायको न्याय हुने गरि संविधान कार्यन्वयन हुन नसकेको अबस्थामा दलित पत्रकारहरुले जातीय असमानताको अन्त्यका लागि निर्भिक र स्वतन्त्र पत्रकारिताको माध्यमबाट सचेतना जगाउन आग्रह गर्नुभयो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले फेरिएको ब्यवस्था अनुरुप दलित समुदायको अवस्थालाई पनि परिवर्तन गर्न दलित पत्रकारहरु एकिकृत बन्नुको विकल्प नभएको बताउनुभयो । संविधानसभा सदस्य समेत रहनुभएका पहाडीले दलित समुदायबाट पत्रकारितामा लागेका युवा पुस्तालाई सिर्जनशिल बनाएर सामाजिक परिवर्तनको संवाहकको रुपमा अघि बढाउन देशब्यापी रुपमा संगठन बिस्तारमा लागिएको बताउनुभयो ।

अधिवेशनलाई ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाकी उप प्रमुख सविता रसाइली, पालुङटार नगरपालिका गोरखाकी उप प्रमुख पम्फा बसेल, नेकपाका केन्द्रिय सदस्य रणेन्द्र बराइली, संघीय समाजबादी पार्टीका केन्द्रिय सदस्य जनार्दन वियोगी, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सिं सुनार, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतका बक्ताहरुले दलित समुदायको विकासमा एकताको आवश्यकता रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्