रत्न आभुषण संघ भित्रको सुन वेथिती लिक ,अध्यक्ष ताम्राकार र तुलाधरले बैंकसँग सेटिङ मिलाएर जिल्लाको कोटा समेत खाने गरेको आरोप

फागुन, काठमाडौं । सुनचाँदी व्यवसायीहरुको संस्था रत्न तथा आभुषण संघभित्र ‘फर्जी कम्पनी दर्ता गरेर सुनको कोटा दुरुपयोग गरी अवैध कारोवार गरेको मुद्दा’ उठेको छ । रत्न तथा आभुषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले विगतदेखि नै सुनको कोटा दुरुपयोग भएको भन्दै आवाज उठाएका छन् । संघका पदाधिकारी र सदस्यहरु रहेको ह्वाटसएप ग्रुपमा गुप्ताले संघका अध्यक्ष लगायत जिम्मेवार पदाधिकारी माथि सुनको अवैध कारोवारमा संलग्न रहेको भन्दै प्रश्न उठाएका हुन ।

संघका वरिष्ठ उपाध्यक्ष गुप्ताले यस विषयमा आवाज उठाएपछि विवाद सतहमा आएको हो । यस विषयलाई लिएर अध्यक्ष सुमन ताम्राकारले आफूलाई राजीनामा गर्न भनेको गुप्ताले दाबी गरेका छन् । अवैध कारोवारका वारेमा जानकारी दिएपछि मेरो राजीनामाको कुरा उठाइएको छ, गुप्ताले भने ।

विदेशी मुद्राको दबाबको कारण सुन आयातमा कोटा छ । सोही कोटाको फाइदा उठाउँदै फर्जी कम्पनी दर्ता गरेर सुनको कारोबार भइरहेको र वास्तविक खुद्रा व्यवसायी मारमा परेको संघका वरिष्ठ उपाध्यक्ष गुप्ताको आरोप छ ।

“विदेशी मुद्रा अभावको कारण विगत १५ वर्षदेखि सुनमा कोटा प्रणाली छ । राज्यले हामीलाई विश्वास गरेर अख्तियारी दिएको यो कोटा दामासाहीले व्यवसायीहरुलाई वितरण गर्नुपर्छ भनेर मैले अध्यक्षलाई बाम्बार विभिन्न कालखण्डमा भनिरहे तर उनले फर्जि कम्पनी खोलेर कारोवार गर्न छोडेनन्, गुप्ताले भने ।

“सुनको कारोवारमा भएको अवैध धन्दाको कुरा मैले उठाउन खोज्दा अध्यक्ष सुमन ताम्राकारले एक्कासी फोन गरेर मेरो राजीनामा माग्नु भयो, गुप्ताले भने । आफू अहिले देश बाहिर रहेको र नेपाल आएपछि यो मुद्धालाई गम्भिर रुपमा उठाउने गुप्ताले जानकारी दिए ।

संघका अध्यक्ष ताम्राकारले आफुलाई फोन गरेर ह्वाट्सएप ग्रुपमा किन संघको आन्तरिक कुरा बाहिर ल्याएको भनेर धम्काएको गुप्ताले बताए । संघ भित्र राख्नु पर्ने कुरा बाहिर आएको छ, यो राम्रो होइन यसको नतिजा ठिक हुदैन भन्दै अध्यक्ष ताम्राकारले आफूलाई धम्काएको गुप्ताको भनाई छ ।

गुप्ताले भने “संघका जिम्मेवार पदाधिकारीले नै बैकसँग मिलिमतोगरी फर्जी कम्पनी दर्ता गरेर सुनको कालोबजारी तथा अवैध व्यापार रोक्न आवाज उठाएको हुँ ।” बेथितीका कुरा संघ भित्र राख्नुपर्नेमा ह्वाट्सएपमा उठाएको भन्दै अध्यक्षले धम्की दिएका छन, तर आफुले यो विषयलाई भण्डाफोर गरेरै छाड्ने गुप्ताले बताए । संघका अध्यक्ष सुमनमान ताम्राकारले भने आफूले वरिष्ठ उपाध्यक्ष गुप्ताले बैठकमा राख्ने बिषय ह्वाटसएप ग्रुपमा किन राखेको भनेर सोधेको बताए ।

अध्यक्ष ताम्राकारले भने,“मिडिया बाजी गरेर हिँड्ने हाम्रो बानी छैन यो कसरी बजारमा गयो । यो हाम्रो एक दुई कुरामा मिस अन्डरस्ट्याण्डिङ भएको होला । यो आफैँ समाधान गर्ने कुरा हो । यो हामीलाई एक आपसमा लडाउने कुरा तपाईंले कसरी पाउनु भयो यो हामीलाई थाहा छैन,” उनले भने, “उहाँले राजीनामा दिने नदिने व्यक्तिगत कुरा हो । ”

उनले सबै विषय कमिटीमा बसेर छलफल गर्न सकिने बताए । सुनको कोटा सबैतिरबाट दुरुपयोग भएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष गुप्ताले यस विषयमा सम्बन्धित निकायबाट तत्काल गम्भीर छानबिन गर्नुपर्ने माग गरे ।

बैंकको मिलिमतोमा सुनको अवैध कारोवार

सुनचाँदी व्यवसायीहरुको संस्था रत्न तथा आभुषण संघका पदाधिकारीले बैंकसँग सेटिङ मिलाएर सुनको मूल्य हेरफेरगरी व्यवसायीलाई लिन नसक्ने वातावरण सृजनागरी अध्यक्ष ताम्राकारको पाटनरले सुन उठाउने गरेको बरिष्ठ उपाध्यक्ष गुप्ताको भनाई छ । सुन विक्रीको कारोवार गर्ने विभिन्न बाणिज्य बैंकको टेजेरी डिपामेन्टसँग ताम्राकारले सेटिङ मिलाएर आफ्नै पाटनर निर्मल तुलाधर मार्फत सुनको अवैध कारोवार गर्दै आइरहेको गुप्ताको भनाई छ ।

संघका अध्यक्ष ताम्राकारले आफ्नो पाटनरसिप रहेको गोल्ड स्पट प्रा.लि.बाट अवैध सुनको कारोवार हुनेगरेको गुप्ताको भनाई छ । आफ्नो कम्पनीमा काम गर्ने कामदारको नाउँमा कम्पनी खोलेर भारततर्फ सुन तस्करी गर्दै आइरहेको उनको भनाई छ । गुप्ताले आफू नेपाल आएपछि पत्रकार सम्मेलन गर्ने र सरकारलाई समेत यस बिषयमा छानविन गर्न आग्रह गर्ने बताए । साभारः रेसखबर

प्रतिक्रिया दिनुहोस्