पर्सा सुनचाँदीबाट सुन सिफारिस शुल्क वृद्धि,कालोबजारी भयोःसर्राफ

वीरगञ्ज,फागुन । पर्सा सुनचाँदी व्यवसायी संघले सुन सिफारिस शुल्कमा वृद्धि गरेको छ । प्रति किलो सुन सिफारिस विगतमा ४ हजार भएता पनि अहिले बढाएर २० हजार पु¥याउने निर्णय गरिएको संघका महासचिव अनिलकुमार सर्राफद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यसैगरी सुन उठाउनको लागि २ लाख रुपैया धरौटी राख्ने नियम समेत लागु गरिएको छ ।

पर्सा सुनचाँदी व्यवसायी संघको कार्यसमितिले यो निर्णय गरेसँगै साना व्यवसायीहरुले ठूला व्यापारीहरुले कालोबजारी गर्नको लागि सिफारिस शुल्क बढाउनुका साथै धरौटी राख्ने नियम ल्याएको भन्दैं विरोध गरेका छन् । संघका निर्वतमान महासचिव प्रवेशकुमार सर्राफले संघले खुलेआम कालोबजारी गर्नेहरुलाई निम्तो दिएको र संघलेनै संस्थागतरुपमा कालोबजारीको निर्णय गरेको भन्दै सिडियो कार्यालयमा  उजुरी दिने आफुहरुले तयारी गरेको बताउनुभयो । संघले साना व्यवसायीहरुलाई सानो परिमाणमा सुन किन्ने अधिकारमा अंकुश लगाउने काम गरेको र यो संस्थागत कालोबजारीको निर्णय भएको भन्दैं आफुहरु मुद्धाको तयारीमा रहेको बताउनुभयो । ठुला व्यापारीहरुले सुन आफ्नो हातमा राखेर कालोबजारी गर्नको लागि यो निर्णय गरिएको सर्राफको दाबी रहेको छ ।

यता संघका अध्यक्ष भूलनप्रसाद सोनारले सुनचाँदीको विक्री वितरणलाई पारदर्शी गराउनको लागिनै धरौटी रकम राख्नुका साथै सुन सिफारिसमा २० हजार बनाएको बताउनुभयो । अध्यक्ष सोनारले पर्सा सुनचाँदी व्यवसायी संघको आर्थिक बलियो बनाउनको लागि सदस्यता शुल्क घटाएर सिफारिस शुल्क वृद्धि गर्नुका साथै धरौटी राखिएको बताउनुभयो । महासंघको नीतिमा ४ हजार मात्रै सिफारिस शुल्क छ नि भन्ने प्रश्नमा अध्यक्ष सोनारले आफु केही दिनमा काठमाडौं आएर यस विषयमा थप बुझ्ने र बुझाउने समेत बताउनुभयो । अध्यक्ष साहले कसैले कालोबजारी भन्दैं मुद्धा मामिला गरे पनि त्यसको जवाफ पनि आफुहरुले कानुनीरुपमै दिने बताउनुभयो । पर्सा सुनचाँदी व्यवसायी संघले सुन सिफारिसमा शुल्क वृद्धि गरेपछि र धरौटी रकम राखेपछि यो नयाँ नियमलाई नेपाल सुनचाँदी व्यवसायी महासंघले सदर गर्छ या बदर गर्छ यो भने केही दिनमा हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्