राष्ट्रिय सभाको यात्रामा अग्रसर को हुन घनश्याम रिजाल विश्वकर्मा ? सुन पेशाको प्रतिष्ठा उच्च

अन्तिम अवस्था सम्म सत्ता गठबन्धनमा कुनै गडबढी नभए नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष घनश्याम रिजाल विश्वकर्मा राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुने निश्चित जस्तै छ । सुनचाँदी व्यवसायको क्षेत्रबाट राज्यको गरिमामय राष्ट्रिय सभामा रिजालको प्रवेश गौरव र गरिमामय हुनेछ । एकिकृत समाजवादीको जनवर्गीय संगठन नेपाल दलित मुुक्ति संगठनका केन्द्रिय महासचिव रिजालको राजनीतिक सफलतालाई सुनचाँदी व्यवसाय क्षेत्रको नीति नियम कानुन निर्माण गर्न समेत महत्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ । माघ ११ गते पछि सुनचाँदी क्षेत्रबाट अर्को एउटा तारा घनश्याम रिजाल राष्ट्रिय सभामा उदाउने प्रवल अवस्था छ ।
को हुन घनश्याम रिजाल विश्वकर्मा ?
घनश्याम रिजाल सुनचाँदी व्यवसायिक क्षेत्रमा नवपुस्ताका एक उदियमान नेतृत्वकर्ता मात्र नभएर एक युवा राजनीतिक व्यक्तित्व समेत हुनुहुन्छ । वि.स.२०३७ मा माता रुद्रमायाँ रिजाल र पिता धन बहादुर रिजालको कोखबाट भिमेश्वर नगरपालिका–१०,चरिकोट दोलखामा जन्मनुभएका रिजाल मुलुकको एक प्रतिष्ठित सुनचाँदी व्यवसायिक संगठन नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ । उहाँले कला व्यवसायी संघको दोलखा अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष समेत हाकेर वर्तमान अध्यक्षको जिम्मेवारी पाउनुभएको हो । विभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय रिजाल यस अघि उद्योग वाणिज्य संघ दोलखाको महत्वपूर्ण पदमा समेत भुमिका निर्वाह गर्दै कालिन्चोक सामुदायिक एफ.एम.का उपाध्यक्ष समेत भएर काम गरिसक्नुभएको छ । नेपाली गहना व्यवसाय क्षेत्रको मौलिक मर्मलाई जगेर्ना गर्दै आधुनिकरुपमा फड्को मार्नुपर्ने मान्यता राख्नुहुने रिजाल पछिल्लो समयमा युवापुस्तालाई कसरी गहना व्यवसायिक क्षेत्रमा आर्कषण गर्ने र यस व्यवसायिक क्षेत्रमा कसरी बैज्ञानिक मान्यताहरु स्थापित गर्ने भन्ने पक्षमा चिन्तित हुनुहुन्छ । समाजसेवी भावाना हुनुभएका घनश्याम रिजाल एक सालिन र मिलनसार व्यक्तित्वका समेत धनि हुनुहुन्छ । ‘‘नेपालको गहना व्यवसायिक क्षेत्र र युवा पुस्ताको अभिभारा’’ के हुन सक्छ यसै सन्दर्भमा केन्द्रीत रहेर रिजालसँग आभुषण बजार साप्ताहिक पत्रिकाले गरेको कुराकानीको सारसंक्षेप । यो कुराकानी आभूषण बजार पत्रिकाले आज भन्दा १० वर्ष अघि चरिकोट पुग्दा लिएको हो यसलाई सान्र्दभिक ठानेर पुन प्रकाशन गरिएको छ ।
यहाँ एउटा दोलखाबासी गहना व्यवसायी हुनुहुन्छ सर्वप्रथम तपाईकै मुखारविन्दबाट छोटो शब्दमा दोलखाको बयान सुन्न चाहान्छौं ?
मैले मात्र होइन सवैले भन्ने गर्दछन् दोलखा प्रकृतिले दिएको भौगोलिक सुन्दरताको एक बेजोड प्रस्तुती हो । जिरीलाई नेपालकै स्विड्जरल्याण्डको रुपमा व्याख्या गरिन्छ । शान्त,मनोरम दृश्यहरुले जो कोही घुम्न आउनेहरुको मन लोभ्याउने भएका कारण स्विड्जरल्याण्डको उपमा यस जिल्लाले पाइरहेको छ । प्राकृतिक तथा धार्मिक पर्यटकिय जिल्लाको संगम यस जिल्ला हो भन्दा फरक पर्दैन । यहाँको भिमसेनथान विश्वमानै चर्चित शक्तिपिठको रुपमा प्रख्यात रहेको छ । जलविद्युतको लागि अत्यन्त सफल र सम्भावाना बोकेको जिल्लाको रुपमा दोलखा चर्चित छ । ३१ सय मेगावाट क्षमताको उपर तामाकोशी,विभिन्न परियोजनाको रुपमा रहेका जलविद्युत आयोजनाहरुले आर्थिक विकासको क्षेत्रमा पनि ठुलो सम्भावानाहरु पैदा गराएको छ । सिमानाको हिसावले चीनसँग नजिक रहेर व्यापार व्यवसाय गर्न सक्ने हैषियत यस जिल्लाले राख्न सक्छ ।
सर्वप्रथम केन्द्रीय ऐजण्डा भन्दानै तपाईकै जिल्ला तर्फ केन्द्रीत हुन चाहान्छौं । गहना व्यवसायिक क्षेत्रका हिसावले दोलखाको संगठनलाई परिचित गराउनुपर्दा ?
यस जिल्लाका गहना व्यवसायीहरु नेपाल सुनचाँदी कला व्यवसायी संघको मातहातमा रहेर जिल्ला शाखामा संगठित भएको अवस्था छ । २०६३÷०६३ सालको जनआन्दोलन ताकानै यहाँ नेपाल सुनचाँदी कला व्यवसायी संघको स्थापाना भएको हो । उक्त समयपूर्व यस जिल्लामा सुनचाँदी व्यवसायिक क्षेत्रको तर्फबाट कुनै पनि संघ संस्था स्थापना भएको अवस्था थिएन । यद्यपी सामुहिक प्रयत्नबाट सुनको दरभाउ वितरण गर्ने काम भने नभएको होइन । संस्थागत आकार नभए पनि काम गर्ने परिपाटी सामुहिकरुपमानै हुने गर्दथ्यो फरक यति थियो औपचारिक रुपमा संगठित हुने अवसर मिलेको थिएन । संगठन नहुँदा व्यक्तिगतरुपमा समस्या पैदा हुने स्थिती निम्तियो यसैलाई मध्यनजर गर्दै सवैको सामुहिक पहलमा कला व्यवसायी संघको शाखा यहाँ स्थापाना भएको हो । अहिले यस जिल्लामा हामी ६० भन्दा बढी व्यवसायीहरु संगठीत भएका छौं । सदरमुकाम चरीकोट,सिंगटी,जिरी,मैनापोखरी,नागादेउराली यहाँका प्रमुख बजारहरु हुन् । यिनै बजारमा हामी गहना व्यवसायीहरु आफ्नो कर्ममा क्रियासिल रहेको अवस्था छ ।

तपाई कला व्यवसायी संघको केन्द्रीय उपाध्यक्षको हैषियतबाट मुलुकको समग्र गहना बजारलाई आर्थिक दृष्ट्रिकोणबाट कसरी विश्लेषण गर्नुभएको छ ?
गहना व्यवसायिक क्षेत्र आर्थिक विकासको दृष्ट्रिकोणले निकै उर्वर क्षेत्र हो । मुलुकभर १२ देखि १३ हजारको हाराहारीमा गहना व्यवसायीहरु रहेको अवस्था छ कम्तीमा १ लाखको संख्यामा कालिगढ छन् । मुलुकमा वेरोजगारीको समस्या विकराल भएको स्थितीमा सुनचाँदी बजारले लाखौंलाई रोजगारी दिन सफल भएको छ । लाखौं परिवार यस पेशा व्यवसायमा आश्रित बनेको अवस्था छ । राज्यले रोजगारीको अवसर सिर्जना गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट भएको यो प्रयासलाई महत्वपूर्णरुपमा लिनुपर्ने हुन्छ । यो कलाको पनि क्षेत्र हो, संस्कृतिलाई टेवा पु¥याउन यस क्षेत्रकोे ठुलो भूमिका रहेको छ । कला क्षेत्रको विकास हुनु भनेको पर्यटनको विकास हुनु हो । विगतमा साँस्कृतिक प्रयोजनको लागि मात्र गहना बनाउने चलन थियो तर हाल त्यसमा परिवर्तन भएको छ । देशमा भित्रिएको रेमिट्यान्सको वृद्धिसँगै गहना लगाउने चलन बढेर गएको छ । सुनचाँदीका गहनालाई साँस्कृतिक प्रयोजनको रुपमा मात्र नभएर सम्पत्तिको रुपमा लिने संस्कृतिको विकास भएको छ । गहनाको माग पछिल्लो समयमा बढेको छ तर दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा ध्यान दिन जरुरी छ । माग अनुरुप अझै म गहना पसलको संख्या कम देख्छु । जति पनि खुलेका पसलहरु छन सवैलाई नीतिगत मान्यतामा राखेर व्यवस्थित गर्न जरुरी छ । व्यवसायिक संघले पनि आफ्ना सदस्यहरुलाई अनुगमन र नैतिक आंचारसंहितामा बाध्न जरुरी देखिन्छ ।
गहना बजारमा देखिएका प्रमुख समस्यालाई तपाईको नजरले कसरी दृष्ट्रिगत गरेको छ ?
गर गहना कारोवार ऐन नियम नबन्नुनै अहिलेको प्रमुख समस्या भएको हामीले ठानेका छौं । गहना बजारमा सवै राम्रो गरी कमाउ भन्ने मान्यताका पेशाकर्मी मात्र छन भनेर म भन्न चाहदिन । केही व्यवसायी गहना व्यवसायीको खोल आढेर यस व्यवसायलाई बद्नाम गराउने नियतबाट पनि काम गरेको देखिन्छ । कोही भने असल नियतबाट राज्यलाई कर तिर्दै,पसल,उद्योग दर्ता गरी नियमसंगत ढंगबाट व्यापार गरेको देखिन्छ । नराम्रा नियत भएकाहरुबाट सही ढंगबाट कला,सिप देखाएर परिश्रम गर्नेहरुलाई असर परेको छ । राज्यले पनि यस विषयमा सहि ढंगबाट बुझ्न जरुरी छ । राम्रा र नराम्रालाई एउटै डालो भित्र हारेर व्यवहार किमार्थ गर्नु हुँदैन । राम्रा व्यवसायीलाई प्रोत्साहान गर्ने र कानुन भन्दा बाहीर रहेर काम गर्नेलाई उचित ढंगबाट कारवाही गर्नुपर्ने देखिन्छ । तसर्थ गहना व्यवसायलाई यतिबेला भुगोल र यहाँको परिवेश सुहाँउदो ऐन नियमको खाँचो छ । यसमा राज्यले गम्भिर भएर सोच्नुपर्ने देखिन्छ ।
अर्को कुरा सुनको वितरण प्रणालीमा नियमितता छैन । सुनको वितरण प्रणाली चुस्त नहुँदा अनेकन चोरी,तस्करीका समस्याहरु पैदा भएको स्थिती छ । कोटा प्रणालीका कारण साना व्यवसायीहरुले सुन पाउन सकिरहेका छैनन् । अहिलेको बजेट भाषणमा सानो परिमाणमा समेत बैंकबाट सुन उपलब्ध गराउने कुरा सुन्नमा आएको छ यसलाई छिटो भन्दा छिटो कार्यान्वयन होस् भन्ने मेरो चाहाना छ । यदि यो भइदिएको खण्डमा ठुला होलसेलर व्यवसायीहरुबाट काँचो सुनमा हुने मनोमानी सोतह हटेर जान्छ । यस्तै मुलुकमा यतिबेला विकरालरुपमा कालिगढको समस्या देखिएको छ । स्वेदशी दक्ष कालिगढको उत्पादनमा जोड नदिदा विदेशी कालिगढबाट ठगिनु परेको स्थिती पनि जगजाहेरनै छ ।
तपाई गहना व्यवसायिक क्षेत्रको युवा नेतृत्व पनि हुनुहुन्छ । नेपालको गहना बजारको भविष्यलाई थप उज्जवल बनाउने तपाईको सुनौलो सपना अर्थात योजना के हुन सक्छन् ?
हामीले विगतमा प्रत्यक्ष देखेको सुनेको नै हो,राज्य तवरबाट उचित ऐन नियम र संरक्षणको अभावमा विदेशमा समेत निर्यात हुने गलैचा तथा पश्मिना उद्योग धरासयी भएको छ । चाँदीका सामानले राम्रो गति लिएको थियो यो पनि उचित संरक्षण नहुँदा अपेक्षा गरे अनुरुपको निर्यातदरमा वृद्धि हुन सकेको स्थिती छैन । सुनको गरगहनाको सवालमा अव यतिबेला सवै चनाखो हुनुपर्ने स्थिती आएको छ । अव आउने भावि युवा पिढी व्यवसायीहरुले पनि यस व्यवसायको क्षेत्रमा गम्भिर भएर चिन्तन गर्नुपर्ने बेला आएको छ । राज्यको यस क्षेत्रलाई गम्भिररुपमा लिएर ऐन नियम बनाउनुको सट्टा विदेशी व्राण्डका गहना कम्पनीहरुलाई भित्राएर हस्तक्षेप गर्ने मुडमा उत्रिएको देख्न सक्छौं । यहाँका गहना बजार र सिपलाई प्रवद्र्धन गर्ने कुनै पनि नियम नबनाई अस्तव्यस्त पार्ने अनि हामीलाई नराम्रा व्यवसायीको ट्याग थमाएर विदेशी गहना कम्पनीलाई भित्राउने षडयन्त्र भएको देख्न सकिन्छ । अव सम्पूर्ण हामी स्वदेशी गहना व्यवसायी तथा कालिगढहरु एक हुनुको विकल्प छैन । सवै एकिकृत भएर ठुलो सोरुम संचालन गर्ने सामथ्र्य हामीमा पनि छ यसको लागि अग्रसर हुनुपर्छ भने ऐन नियमको उचित व्यवस्था गर्न राज्यलाई कडा भन्दा कडा दबाब दिनुपर्ने देखिन्छ ।
अन्र्तराष्ट्रिय सिप र प्रविधीलाई अव विस्तारै हामीले पनि अवलम्वन गर्न जरुरी छ । हाते ज्यावाल र मेशिनहरुबाट विस्तारै माथि उठेर प्रविधी तर्फ लम्किनुपर्ने देखिन्छ । यसका लागि आवश्यक पूर्वाधारको विकास र बजेटमा सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । गहना व्यवसायलाई प्राविधीक शिक्षाको रुपमा सरकारले घोषणा गरी सिप तथा प्रविधीको ज्ञान दिने वातावरणको विकास नगरेसम्म यहाँको गहना बजारले अन्र्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न कठिन हुन्छ । स्वदेशी गहनाकलाले विश्व बजारमा राम्रो व्यापार गर्ने प्रबल सम्भावाना छ हो यसको व्यवस्थापनको लागि सरकारले आवश्यक पूर्वाधार र ऐन नियम बनाउनुपर्छ ताकि त्यसबाट यस व्यवसायको संरक्षण होस् । अन्तिममा यो व्यवसायको दिर्घकालिन हितमा लाग्ने हो भने अव राज्य,व्यवसायी र उपभोक्ता खुल्ला छलफलमा बसेर निश्कर्ष निकाल्नुको विकल्प छैन । गहना कारोवार निर्देशिका बनाउने भनेर १३ महिनाको समयावधी फोकटमा फालिएको अवस्था छ । सरकार होस् या गहना व्यवसायिक महासंघ अव कुनै निश्चित टेवुल कुर्सीमा बसेर होइन खुल्ला आम गहना व्यवसायीको बिचमा आएर भुगोल र परिवेश सुहाँउदो ऐन नियम बनाउन जुट्नुपर्छ । यसबाटनै गहना व्यवसायिक क्षेत्रको कल्याण हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्