सुनचाँदी नीति नियम नबन्दा सामाखुशीका गहना व्यवसायीको यस्तो गुनासो

प्रकाश ल्वागुन ,सिद्धकाली अर्नामेन्ट्स,ग्रीनल्याण्ड,टोखारोड
राज्यले स्पष्ट कानुन बनाएको छैन सुनचाँदी बजारका लागि । म राज्यको लागि सानो फुली वेचेको पनि कर तिर्न तयार छु । राज्यले अडिटर खटाओस वा पसलमा निगरानी गरोस् म मन्जुर छु ।
सुनचाँदी नीति नियम नबनाएर हामीलाई राज्यले निकै समस्यामा पारेको छ । हामी साना व्यवसायीले काम गर्न एक त सुन पाउँदैनौ ।

नियम कानुन नहुँदा काँचो सुन पनि विल विना किन्न बाध्य भएका छौं । यो अवस्था कहिलसम्म ? कोही मानिसहरु पाँच,दश हजार काम चलाईदिनुहोस् भनेर आउँछन् । बन्दगी राख्ने नीति छैन । यसले पनि सवैलाई मर्का परेको छ । अव सम्पूर्ण सुन व्यवसायीहरु एक हुनुको विकल्प छैन । आन्दोलन अवको आवश्यकता हो महासंघ पनि यसको लागि तयार हुनुपर्दछ । संघ र महासंघका पदाधिकारीहरुप्रति व्यक्तिगतरुपमा मेरो कुनै रिसिईवी छैन तर उहाँहरुले गरेको कार्य आम व्यवसायिक हकहितको लागि छैन मलाई चित्त बुझेको छैन ।

गोविन्दबहादुर शंकर,शंकर सुनचाँदी पसल,टोखारोड,सामाखुशी
अहिले हामीको समस्या भनेकै राज्यलाई कर तिरेर पनि भनेको बेला सुन नपाउने हो । काँचो सुनमा ठुलाबडा र पँहुचवालको मात्र रजाई छ साना तिना व्यवसायीहरुको केही लाग्दैन । महिनामा दश विस ग्राम सुनले पसल चल्ने अवस्था छैन ।

हामीले व्यवसाय गर्न कच्चा पदार्थ पाउनुप¥यो । सरकारले यो व्यवसायलाई टेरेन अव आन्दोलनमा जानुपर्छ । अरु उपाय छैन आन्दोलन गर्ने सरकारलाई ढक्ढकाउने हो ।

विमला शंकर, शंकर सुनचाँदी पसल,टोखारोड,सामाखुशी
सुनचाँदी व्यवसायमा निकै चुनौतिहरु बढ्दै गइरहेको छ । सुरक्षाको हिसावबाट पनि यो पेशा निकै डरमा गर्नुपर्ने अवस्था छ । शान्ति सुरक्षाको भरपर्दो व्यवस्था छैन । अर्को कुरा ज्याला जर्तिमा पसलै पिच्छे फरक फरक छ यसलाई समान नियम बनाउनुप¥यो । विल विना कुनै पनि सुनको कारोवार गर्नुहुँदैन भन्नेमा हामी सचेत छौं र यसमा सवै व्यवसायीहरु पनि सचेत हुन जरुरी छ ।

राजेन्द्र दर्नाल,कमलामाई सुनचाँदी पसल,ग्रीनल्याण्ट टोखारोड
मैले पसल गरेको करिव १० वर्ष भइसक्यो सुन व्यवसायमा निकै समस्याहरु बढेर गएको छ । सुनको रेट अलिकती घटेको वेलामा सिजनमा कहिले सुन पाईदैन । झन पछिल्लो समय सुनको भाउ बढेको कारणले पनि होला पसलमा पहिला जस्तो चहलपहल छैन ।
नीति नियम नभएकै कारणले यस्तो समस्या आएको होला जस्तो मलाई लाग्दछ । सुनचाँदीको नीति नियम बनाउँदा न्यूरोड विशालबजारलाई मात्र हेरर बनाउनुहुँदैन हामी साना व्यवसायीहरुलाई पनि बाँच्ने आधार खडा गर्नुप¥यो भन्ने मेरो माग हो । हामी साना व्यवसायीहरुको आवाज कसैले सुन्दैन ।

 

प्रतिक्रिया दिनुहोस्