६० केजी सुन तस्करी प्रकरण,६ जनालाई धरौटीमा छाड्न आदेश,शिवकुमार सर्राफ छुटेनन्

उच्च अदालत पाटनले ६० किलो सुन प्रकरणका १२ अभियुक्तलाई थुनामा पठाउने र ६ अभियुक्तलाई थुनामा छाड्न आदेश गरेको छ।

उनीहरू सबैलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने निर्णय गरेको थियो।

न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले १२ जनालाई थुनामा र ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो।

दावा छिरिङ, टासी भन्ने धुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो।

त्यस्तै कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई भने थुनामा पठाउनुपर्ने अवस्था नदेखिएको भन्दै धरौटीमा छोड्ने आदेश गरेको छ।

उनीहरूमध्ये श्रेष्ठ र भट्टबाट जनही एक लाख रूपैयाँ, पौडेल र नेपालीबाट जनही पाँच लाख रूपैयाँ र गौतम र पराजुलीबाट जनही दुई लाख रूपैयाँ धरौटी लिएर छोड्ने आदेश गरेको हो।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २६ जनालाई पक्राउ गरी अदालतमा मुद्दा पेस गरेको थियो। जिल्लाको आदेशविरूद्ध १७ जनाले दिएको निवेदनमा बुधबार उच्च अदालतले आदेश गरेको हो।

यो प्रकरणमा मुछिएका कलैया उपमहानगर १ बस्ने भोला साह सोनार, बर्दिया घर भई काठमाडौं चुनदेवी बस्ने जीवन चलाउने र रोल्पा घर भई ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका अमला रोका फरार छन्।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले २९ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसपछि सरकारी वकिलले २९ जनाविरूद्ध भदौ ३१ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

संगठित अपराध निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ ९१० ९घ० को १ ९ख०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा दर्ता गरेको थियो।

६० किलो ७१६ ग्राम सुन प्रकरणमा ५० जना संलग्न रहेको सिआइबीको निष्कर्ष थियो। तर कतिपय फरार व्यक्‍तिहरूको पहिचान नखुलेको र पक्राउ परेका व्यक्तिहरूमध्ये पनि कतिपयको संलग्नता नभएको भन्दै सिआइबीले नै मुद्दा अघि नबढाउन राय दिएको थियो।

साउन २ गते त्रिभुवन अन्‍तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्‍धान विभागले बरामद गरेको थियो। हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट उक्त सामान ल्याइएको थियो। सुन रहेको सुराकको आधारमा खटिएको विभागको टोलीले भन्सार जाँच पास भएर छुटेको ब्रेक शु बरामद गरेको थियो। उक्त ब्रेक शुभित्र ६० किलो ७१६ ग्राम बरामद भएको हो।

दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको थियो।

यही प्रालिले बरामद नगरिएको ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ। त्यसैको आधारमा सरकारी वकिल कार्यालयले पनि कुल ३६२।७७८ किलोग्राम सुनको बिगो मागदाबी गरेको छ। ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रूपैयाँ बिगो मागदाबी गरेको हो।

सुरूमा विभागले अनुसन्धान गरेपनि पछि अन्तर्देशीय अपराध र संगठित अपराध देखिएको भन्दै अनुसन्धान गर्न सिआइबीलाई हस्तान्तरण गरिएको थियो। ३५ दिन अनुसन्धान गरेपछि सिआइबीले सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।

यस प्रकरणमा नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार थप अनुसन्धानको लागि सम्बन्धित निकायलाई सिफारिस गर्न पनि सिआइबीले राय दिएको थियो।

सिआइबीले हाललाई रेडी ट्रेड कम्पनीबाट मात्रै तस्करी भएको घटनालाई अनुसन्धान गरेको बताएको छ। यस प्रकरणमा चिनियाँ समूहले नै नेपाल हुँदै भारतसम्म तस्करी गर्ने गरेको सिआइबीको निष्कर्ष छ। अनुसन्धानको क्रममा चिनियाँ समूहले रेडी ट्रेड प्रालिसँगै सात वटा कम्पनी खडा गरेको खुलेको थियो।

अन्य कम्पनीहरूबाट भएका तस्‍करीबारे अनुसन्धान गर्न बाँकी नै रहेको सिआइबीले जनाएको छ। यो मुद्दा बाहेक पनि सिआइबीले अनुसन्धान जारी नै राख्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्