गुट उपगुटबाट होइन विवेकशिल महाधिवेशन प्रतिनिधि चयन गरौं ।

– रेशम लाम्गादे
नेपाल सुनचाँदी व्यवसायी महासंघको चैत २३ र २४ गते हुने चौथो महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्दै गईरहेको छ ।
महासंघले फागुन २० गतेसम्म अन्तिम म्याद राखेर जिल्ला,नगर र एशोसियटबाट छनौट हुने प्रतिनिधिको नाम पेश गर्न भनेको छ । विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरुको नाम पठाउने क्रम जारी रहेको छ ।
चितवन सुनचाँदी व्यवसायी संघको सचिवालय वैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जून रसाईली र उपाध्यक्ष विपिन रामुदामुले खुलेरै महासंघको केन्द्रिय अध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै सहयोगको लागि समेत सचिवालयमा अनुरोध गरेपछि माहोल अझ गर्मिएको छ ।
पछिल्लो समय हुन गईरहेको महाधिवेशनलाई निकै महत्वको साथमा हेरिएको छ । चितवन जिल्लाबाटै दुई हस्ती अर्जून रसाईली र विपिन रामुदामुको दावेदारीले सुनचाँदी बजारमा एक पटक आम व्यवसायीहरुको लागि नयाँ आशा,उत्साह र जोशको नयाँ तरंग सिर्जना गरेको छ ।
पछिल्लो समय सुनचाँदी बजार अत्यन्त असुरक्षित बनेको अवस्था,सुनचाँदीको कारोवार निर्देशिका नबनेर व्यवसायीहरु प्रताडित बनिरहेको अवस्थामा के यो चौथो महाधिवेशन व्यवसायीको आशाको किरण बनेर आउँछ त भन्ने तमाम प्रश्न सिर्जना भएको छ । कुनै विवाह,उत्सवमा अव छोरी चेलीको दुई पाँच तोला सुनको गहनामा सजिएर हिड्दा पनि प्रहरी प्रशासन र राजश्व आएर कतै स्रोत खोज्ने त होइन भन्ने त्रासमा यतिबेला आम जनमानस रहेको अवस्था छ ।
सुनचाँदी व्यवसायी माथिको धरपकड,२० औं वर्ष देखि रिफाईनरी चलाएर जम्मा गरेको केही तोला सुनमा समेत राज्यको गिद्धे नजर परेको अवस्था छ । पछिल्लो समय जनकपुरमा गहना लिएर हिड्दा कालिगढ माथि भएको धरपकड,न्यूरोडमा व्यवसायी पदम पाण्डेको होलसेल विक्रीको लागि बनिबनाउ गहनाहरु उठाएर लैजाने राज्यको तौर तरिका ,पोखराको मोहरियाटोलमा २० औं वर्ष देखि काम गर्दै आईरहेका सुरजित भौमितको कोठामा प्रहरीले उठाएको गहनाहरुबाट व्यवसायीहरुमा अव व्यवसाय गर्ने कि छोड्ने भन्ने वातावरण उत्पन्न भएको छ । अव पसलमा माल टागेर व्यवसाय गर्दा पनि राज्यले कतिबेला स्रोत खोज्ने हो भनेर डराएर बस्नुपर्ने अवस्था छ ।
संकटकालिन अवस्थामा यतिबेला सुनचाँदी बजार गुज्रिएको छ । सुनको कोटा र त्यसैको वाडफाडमा अहिलेसम्म महासंघको नेतृत्व रमाएर बस्दा पनि व्यवसायीहरुले यस्तो नियती भोग्नुपरेको छ । यहि सिमित कोटामा महासंघ भित्र नेतृत्वमा पुग्ने यसअघिको नेतृत्वको कारण सिंगो महासंघ व्यवसायीको हकहित स्थापित गर्न पूर्णत असफल भएको छ । अव व्यवसाय बचाउने कि फेरी पनि उही कोटाको सुनको भागबण्डामा लुछाचुडी गरेर बस्ने भन्ने दुईवटा विकल्प अव आउने नेतृत्वले सोच्नुपर्ने बेला भएको छ । यस विषयमा व्यवसायहरुको पिडाको प्रतिनिधि भएर आउनेहरुले पनि सोच्न जरुरी छ । महासंघको नेतृत्वले फालिदिने एक चोक्टा मासु जस्तै केही तोलामा सुन खोज्न प्रतिनिधि बनेर आउने हो सुनचाँदी बजारको भविष्य अझ भयावह भएर आउने देखिन्छ । तसर्थ अवको अध्यक्ष कस्तो चयन गर्ने,कस्तो भिजन भएको चयन गर्ने,समग्र व्यवसायीलाई एक बनाएर अघि बढ्ने सर्वसम्मत नेतृत्वको खाँचो अहिलेको टड्कारो आवश्यकता देखिन्छ । १५ दिन भित्र बनाउने भने सुनचाँदी नीति निर्देशिका आज १० वर्ष वित्दा पनि आउन सकेको छैन यसको भागिदार को गहिरो समिक्षा गर्नुपर्ने बेला आएको छ ।
तसर्थ जिल्लाबाट आउने प्रतिनिधिनै व्यवसायलाई हाक्न सक्ने ,राम्रो भिजन भएको ,नीति नियम बनाउन सक्ने,राज्यसँग राम्रो सँग तर्क राख्न सक्ने अध्यक्ष चयन आजको आवश्यकता हो । यसका लागि जिल्लाबाट आउने प्रतिनिधि हिजोको जस्तो परम्परागत जस्ले खुवाउछ पियाउछ,बाटो खर्च वेहोरिदिन्छ ,केही तोला सुन दिन्छ त्यसलाई समर्थन गर्ने भन्दा पनि कसले व्यवसाय बचाउन र नीति नियम बनाउन प्रभावकारी भूमिका खेल्छ त्यसलाई मतदान गरेर सहि नेतृत्व चयन गर्नुपर्ने आवश्यकता देखिन्छ ।
अन्तमा महाधिवेशन प्रतिनिधिनै अवको अध्यक्ष र पदाधिकारी चयन गर्ने जग हुन् । असल अध्यक्ष र पदाधिकारी आउन सके मात्र सुनचाँदी महासंघ खराव आचरण भएका तत्वहरुबाट जोगिन सक्छ । तसर्थ फागुन २० गते सम्म चयन गर्ने महाधिवेशन प्रतिनिधि मेरो गुटको मान्छे भनेर रस्साकस्सी गरेर चयन गर्नुभन्दा पनि असल र विवेकशिल प्रतिनिधि चयन गर्न सकौ जस्ले सुनचाँदी महासंघ भित्र लागेको क्यान्सरलाई निको पार्न सकोस् र समग्र सुनचाँदी क्षेत्रलाई नीति नियम दिएर ढुक्क सँग व्यवसाय गर्ने वातावरण बन्न सकोस् ।

प्रतिक्रिया दिनुहोस्