सुन आयातको नीति खुकुलो बनाउन रत्न आभूषण महासंघको माग

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले विद्यमान सुनचाँदी आपूर्ति नीतिलाई खुकुलो बनाउनुपर्नेमा जोड दिएको छ ।
महासंघले बुधवार त्रिपुरेश्वर स्थित कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले राज्यको विद्यमान सुनचाँदीको आपूर्ति नीतिका कारण बजारमा समस्या उत्पन्न भएको भन्दैं त्यसलाई निराकरण गर्न जरुरी रहेको बताउनुभयो ।
राजश्व तिरेर सुन ल्याउन वातावरणको नीतिको विकास गर्न सकिएको खण्डमा सुनको अवैध असोरपोसार राकिने समेत पत्रकार भेटघाटमा औल्याइएको छ । सुनचाँदीको माग र आपूर्तिवीचको सन्तुलन नमिलेको कारण बजारमा समस्या आएको भन्दैं सुन खुल्लारुपमा आयात गर्नुपर्ने व्यवस्था गर्नुपर्ने सो अवसरमा बताइएको छ ।
कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका निर्वतमान अध्यक्ष सुरेशमान श्रेष्ठ,उपाध्यक्ष द्धारिका विश्वकर्मा,सचिव केशर सेन्चुरी,कोषाध्यक्ष गणेश लकान्द्री लगायतको उपस्थिती रहेको थियो ।
यसैवीच नेपाल सुनचाँदी व्यवसायी महासंघ घरझगडाको कारण महाधिवेशन गर्न नसक्ने स्थितीमा पुगेपछि पछिल्लो समय सुनचाँदी बजारको ऐजेण्डामा रत्न आभूषण महासंघ वहस र पैरवीमा सक्रिय भएको छ ।
प्रतिनिधि विवादका कारण सुनचाँदी महासंघको महाधिवेशन अदालत र सिडियो कार्यालयमा समेत पुगेर स्थगीत भएपछि ठूलो महासंघ यतिबेला प्यारालाईसिस जस्तै भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अहिले अध्यक्ष माणिकरत्न शाक्यको समुहले वरिष्ठ उपाध्यक्ष अर्जून रसाईलीको समुहलाई कारवाही गर्ने र रसाईली समुहले अध्यक्ष माणिकरत्न शाक्यको समुहलाई कारवाही गर्ने स्थितीमा घर झगडा उग्र बनेको छ ।
यस्तो अवस्थामा रत्न आभूषण महासंघलाई व्यवसायीहरुको समस्या र विषयवस्तु सक्रियरुपमा उठाउने अवसर प्राप्त भएको छ ।
पछिल्लो समय रत्न आभूषण महासंघले सल्लाहाकार परिषद समेत बलियो बनाएको छ । जसमा पूर्वमन्त्रीहरु डा. राजेशकाजी श्रेष्ठ,छविलाल विश्वकर्मा,मीनवहादुर विश्वकर्मा रत्न आभूषण महासंघसँग जोडिएका छन् । नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष समेत रहेका राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले आभूषण बजार पत्रिकालाई यसअघिनै आफुहरु सुनचाँदीको नीति निर्माणको लागि सक्रिय भएर लाग्ने बताइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्