सुनचाँदी व्यवसायी असुरक्षित,लहानमा गोली हानी हत्या

लहान,चैत ।  सिरहाको लहानमा गोली हानी एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । हत्या भएका व्यक्ति  लहानबाट तीन किलोमिटर दक्षिण गाढा चौकमा अमिता ज्वेलर्सका संचालक ४५ वर्षीय प्रदिप विश्वकर्मा रहनुभएको छ ।  गएराती करिब साढे १२ बजे हतियारधारी डाँकाहरुको समुहले लुटपाट सहित विश्वकर्माको हत्या गरेको हो । सुरुमा गालामा धारिलो हतियार प्रहार गरि घाइते बनाएपछि विश्वकर्मालाई गोली प्रहार गरी हत्या गरेको खुल्न आएको छ । मृतककी श्रीमती अनिता विश्वकर्मालाई पनि धारिलो हतियार प्रहार घाइते बनाइएको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै भाग्दै गर्दा प्रहरीले एक जनालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । अर्को एक जना शंकास्पदलाई पनि पक्राउ गरी अनुसन्धान गरिएको छ । प्रक्राउ पर्नेमा रामकृष्ण चौधरी रहेको बताइएको छ । सिरहामा व्यवसायीको गोली हानी हत्या गरेपछि व्यवसायीहरुमा त्रास फैलिएको छ । घटनाको विरोधमा आफुहरुले आज पसल बन्द गरेर दोषीलाई कडा कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएको लहान सुनचाँदी व्यवसायी नगर संघका अध्यक्ष श्यामकुमार साहले बताउनुभयो ।

मृतक व्यवसायीको न्यायको लागि अहिले आफुहरु प्रहरी कार्यालय देखि प्रशासनमा उपस्थित भएर दबाबमूलक कार्यक्रम गरिरहेको सिरहा सुनचाँदी व्यवसायी संघका अध्यक्ष विकास सारडाले बताउनुभयो । स्मरण रहोस् करिब डेढ वर्ष अघि पनि संघका जिल्ला अध्यक्ष विकास सारडालाई लक्षित गरी पसलमा बम आक्रमण समेत गरिएको थियो । सो आक्रमणबाट भने विकास सारडा जोगिनुभएको थियो । अहिले फेरी लहानमा व्यवसायी प्रदिप विश्वकर्माको हत्यापछि थप सुरक्षा चुनौति थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्