सुनचाँदी महासंघहरुको महाधिवेशनको सरगर्मी र अवको कार्यभार

-रेशम लाम्गादे
मुलुकमा यतिबेला २० हजार भन्दा बढी सुनचाँदी पसल रहेको आंकलन गरिन्छ । करिव १ लाख बढी कालिगढ र यस पेशामा आश्रित परिवार २० औं लाखको संख्यामा रहेका छन् । लिच्छवीकालिन समय देखिनै नेपालको सुन पेशाले नेपालमा मौलिक गहना पेशा व्यवसायको जगेर्ना गर्दै आइरहेको छ । नेपालको विशिष्ट सामाजिक र साँस्कृतिक कारणले गर्दा नेपालमा गहना बजार फस्टाउँदो व्यापारको रुपमा रहेको छ । परम्परागत गहना पसलहरु पछिल्लो समय आधुनिक सो रुममा समेत परिवर्तन भइरहेका छन् । अझ वैदेशिक रोजगारीको सिर्जना र रेमिट्यान्स भित्रिदा सुनचाँदी बजारलाई समेत निकै फाईदा भएको छ । नेपालको मौलिक गहना घर भित्रमात्र होइन अहिले नेपाली जहाँ जहाँ पुगेका छन् त्यहाँ माग हुन थालेको छ ।
सुनचाँदी बजारबाट वार्षिक राज्यलाई ४ अर्व भन्दा बढीको राजश्व संकलन हुने बताईन्छ । सुनचाँदी बजारले नेपालमा छुट्टै विशिष्ट स्थान पाएता पनि कानुनको नजरमा भने यो व्यवसाय अझै पनि अपराधको व्यवसाय जस्तै बन्न पुगेको छ । ऐन कानुन र नीति नियम विहिन हुँदा यो पेशा व्यवसायले जटिल समस्याहरु भोग्दै गुज्रिरहनुपरेको छ । सुनचाँदी कारोवार नीति नियम नहुँदा व्यवसायीहरु ठग र चोरको रुपमा हत्तकडी लगाएर जेल जानुपर्ने अवस्था सिर्जना भएको छ । नीति नियमकै अभावमा देशभरका दर्जनौ जेलमा अझै पनि राज्यलाई कर तिरेर सम्मानित जीवन वाच्नुपर्ने व्यवसायीहरु सयौको संख्यामा चोरको रुपमा हत्तकडी लगाएर जेलमा बस्नुपर्ने अवस्था आएको छ ।
पछिल्लो समय महासंघका उच्च पदाधिकारी देखि लिएर वरिष्ठ व्यवसायीहरु अवैध सुनचाँदी कारोवारमा संलग्न भएको भन्दैं अनुसन्धानको लागि पुर्पक्षमा तानिएका छन् । यसको उदाहरण महासंघका उपाध्यक्ष तथा बारा सुनचाँदी व्यवसायी संघका अध्यक्ष शिवकुमार सर्राफ हुन् । यस्तै न्यूरोडका व्यापारी पदम पाण्डे देखि अरु कयौ व्यवसायी र कालिगढहरु थुनिएका छन् । उनीहरुले सुनचाँदी नीति नियम नभएकै कारण आफुहरुलाई फसाइएको दावी समेत गरेका छन् । राज्यले सुनको नीति नियम नबनाउने अनि चोरबाटोबाट काम गर्न बाध्य बनाएर फसाउने परिस्थिती अहिले सिर्जना भएको व्यवसायीहरुले आरोप लगाउँदै आइरहेका छन् । अझै देशभरका सयौंको संख्यामा व्यवसायीहरु सुनको अवैध कारोवार,सम्पत्ति सुद्धिकरण,संगठित अपराध,हुण्डी कारोवारका सवालमा अनुसन्धानमै रहेको जानकारीमा आएको छ । यसले आगामी दिनमा अवस्था अझ भयावहरुपमा आउने संकेत गरेको छ । नीति नियम विनाको अवस्थामा यो व्यवसाय चल्दै गएको खण्डमा भोली व्यवसायको भविष्यनै खतरामा परेर आपराधिक व्यवसायको रुपमा परिभाषित हुने खतरा बढेको छ ।
यतिबेला नेपालको सुनचाँदी व्यवसायिक क्षेत्रको हकअधिकारको लागि लड्ने र व्यवसायिक विकासमा टेवा पुराउने भनेर खोलिएका तीनवटा महासंघहरु रहेका छन् । तर ती महासंघहरुको भूमिका सुनचाँदी नीति निर्माणमा खासै देखिदैन । कम्जोर र व्यक्तिगत स्वार्थमा रमाउने नेतृत्वका कारण महासंघ भूमिका धरासायी हुँदै गएको छ । सवैभन्दा ठूलो महासंघ नेपाल सुनचाँदी व्यवसायी महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने ठाउँ उक्त संगठनको नेतृत्वको भूमिका समेत कम्जोर भएको व्यवसायीहरुले गुनासो गरेका छन् । राज्यबाट आउने सुनको भागवण्डा र सिफारिसमै सिण्डीकेट खडा गरेर महासंघको नेतृत्व सुन आफ्नो पोल्टामा पार्न लिप्त भएको देखिन्छ ।
२०७० साल असार ५ गते देशभरका १० औं हजार गहना व्यवसाय सम्बद्ध क्षेत्रले राजधानीमा ठूलो आन्दोलन गरेको थियो । आन्दोलनबाट उपलब्धी हासिल हुने भन्दा अन्ततः सम्झौतामा पुगेर कुनै उपलब्धी नभएको सवैलाई भान भएको छ । २०७० असार १३ गते सचिव स्तरको बैठकबाट १५ दिन भित्र गहना कारोवार मापदण्ड र निर्देशिका बनाउने भने पनि आज २०८० साल लाग्दा पनि त्यसले सार्थक परिणाम हासिल गर्न सकेको छैन । राज्यले सचिवस्तरबाटनै सुनको नीति बनाउन लागेको थियो तर महासंघको गलत नेतृत्वनै उदासिन हुँदा आज नीति नियम विहिन अवस्था आएको बताइएको छ । तत्कालिन वाणिज्यमन्त्री मीन विश्वकर्माले पनि सुनचाँदीको नीति नियम बनाउन धेरै पहल गर्नुभएको थियो तर तत्कालिन मन्त्री विश्वकर्मा भन्नुहुन्छ नीति नियम बनाउन, व्यवस्थीत गरेर चलाउ भन्दा पनि महासंघको नेतृत्वको खुट्टा ढोग्नुपर्ने अवस्था आयो । नीति नियम बन्ने वित्तिकै अहिलेसम्म सिण्डीकेट खडा गरेर खाईपाई आएको सुन गुम्छ भन्ने ठुलो त्रासका कारण महासंघ भित्रका खराव नेतृत्वले नीति नियम बनाएर सुनचाँदी क्षेत्रलाई नीति नियम विहिन अवस्था राखेको महासंघ भित्रकै एक तप्काले बताउने गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न आभूषण महासंघको महाधिवेशन चैत महिनामै हुँदैछ । महाधिवेशनलाई व्यवसायिक हकहित र नीति नियम बनाउने प्रणमा लाग्नुपर्नेमा अहिलेको आवश्यकता रहेको छ । अझै पनि महासंघ भित्रका खराव नेतृत्व कसरी सुनको कोटा र सिण्टीकेटमा आफ्नो हैकम राख्ने दौडमा लागेको पाइन्छ । काठमाडौंमा ६० प्रतिशत र वाहिर जिल्लामा ४० प्रतिशत अझै पनि सुनको असमान वितरण नीतिका कारण मोफसलका व्यवसायीहरुले धेरै समस्या भोग्नुपरेको छ । साना व्यवसायीहरु पेशाबाट पलायन हुन थालेका छन् भने कालिगढहरु पेशाबाट पलायन भएर खाडीमा गइरहेको अवस्था छ ।
सुनचाँदी क्षेत्रमा अहिले सवैभन्दा खड्कीएको भनेकै असल र आम व्यवसायीको हकहितको लागि काम गर्ने नेतृत्वको अभाव हो । खराव र व्यक्तिगत स्वार्थसिद्ध नेतृत्वकै कारण नेपालको सुनबजारको अवस्था दयनिय बन्दै गएको छ । महासंघले आगामी दिनमा सहि र देशभरका गहनाको व्यवसायिक हितमा काम गर्ने नेतृत्व आगामी अधिवेशनमा चयन गर्नुुपर्ने देखिन्छ । महाधिवेशन प्रतिनिधिहरु चयन गर्दा आ–आफ्नो बलवुता गुटबन्दीको भरमा भन्दा पनि पारदर्शी र विवेकपूर्ण वुद्धिमता प्रयोग गर्ने व्यक्तिहरु प्रदेश,जिल्ला,नगरबाट चयन गरेर लानुपर्ने देखिन्छ । ताकि भोली सुनचाँदीलाई हाक्ने केन्द्रिय अध्यक्ष लगायतका पदाधिकारी सहि ढंगबाट चुन्न सकियोस् ।

व्यवसायिक हितमा काम नगर्ने,सुनको सिण्डीकेट खडा गरेर साना व्यवसायीहरुलाई विस्थापित गराउने,माफियाहरुलाई महासंघ भित्र राखेर व्यवसायको साख गिराउने हरकत गर्ने जो कोही नेतृत्वलाई अवको महाधिवेशनबाट विदा गर्नुपर्ने देखिन्छ । सुनचाँदी नीति नियम बनाउन चासो नदिदा सुनचाँदी व्यवसायले निकै सास्ती खेप्नुपरेको छ । सुन व्यवसायी,कालिगढ र उपभोक्ता सवैको हकअधिकार स्थापित गर्ने वैज्ञानिक सुनचाँदी कारोवार नीति नियम बनाउन जो आजैको दिन देखि डटेर लाग्छ सोही नेतृत्वलाई चयन गर्नुपर्ने देखिन्छ । जसले सुनचाँदीको नीति नियमलाई निर्णायक तहमा पुराएर सुन व्यवसायलाई अपराधिकरण हुनबाट जोगाउछ त्यो नेतृत्वको नामनै इतिहाँसको स्वर्ण पान्नामा लेखिनेछ ।

प्रतिक्रिया दिनुहोस्