सुनचाँदी क्षेत्रका हस्तीहरुको निधन,संयन्त्र नबन्दा सुचना र सहयोग भएन

काठमाडौं,वैशाख । कोभिडको दोस्रो लहरका कारण सवै भन्दा बढी प्रभावित क्षेत्र मध्ये सुनचाँदी व्यवसायिक क्षेत्र पनि परेको छ । कोभिडको दोस्रो लहरका कारण सुनचाँदी क्षेत्रले केही हस्तीहरुलाई गुमाउनुपरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आधिकारिक के कारणले ज्यान गुमाउनुप¥यो भनेर किटान गरेर भन्न नसकेता पनि कोभिडको दोस्रो लहर चलिरहदा केही अकल्पनीय घटना घटेका छन् । महामारीको यो विषम परिस्थितीमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष ज्ञानुराज शाक्यको निधन भएको छ । ललितपुर सुनचाँदीका संस्थापक अध्यक्ष समेत रहनुभएका शाक्य केही वर्ष यता अस्वस्थ्व रहदै आउनुभएको थियो । अन्र्तराष्ट्रिय ज्वेलरी मेलामा समन्वय गर्न सक्ने र कार्यक्रमहरु सफल पादै आउनुभएका शाक्यको अल्पआयुमा भएको निधनले सुनचाँदीमा एउटा अब्बल हस्ती गुमाउनुपरेको छ ।

यसैगरी पोखराका वरिष्ठ गहना व्यवसायी कृष्णमान गुभाजुलाई पनि यो महामारीको वीचमा गुमाउनुपरेको छ । गण्डकक्षेत्रकै सुनचाँदीको धरोहरको रुपमा गुभाजुलाई लिइन्थ्यो । कास्की सुनचाँदी व्यवसायी संघका सल्लाहाकार समेत रहनुभएका गुभाजुको अल्पआयुमै निधन भएको हो । सवैभन्दा दुःख लाग्दो पक्ष भनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले निकै सरल र मिलनसार एक कर्मठ कर्मचारी सुनील श्रेष्ठलाई गुमाउनुपरेको छ । श्रेष्ठको निधन निकै ह्दयविदारक रहको छ । लाउलाउ र खाउखाउ गर्ने उमेरमा श्रेष्ठको निधनले साच्चै दैव पनि कति निष्ठुरी रहेछ भन्ने परेको छ । निकै कलिलो उमेरमा भएको यो निधन सहनगर्न सक्ने अवस्थाको छैन । महासंघले श्रेष्ठको परिवारको पिडालाई कसरी हुन्छ मल्हमपट्टी लगाउन लाग्नुपर्ने देखिन्छ ।

कोभिडकै कारण नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा पनि अर्को बज्रपात परेको छ । ललितपुर निवासी महासंघका संस्थापक सदस्य सुरज शाक्यको अल्पायुमै भएको निधनका कारण महासंघ स्तव्ध बनेको छ । कोभिडका कारण भएको अकल्पनीय निधनले व्यवसायिक क्षेत्रमा अनुभवी,ज्ञान र सीप भएका व्यवसायीहरु गुमाउनु निकै दुःखदायी अवस्था बनेको छ ।

कोभिडको दोस्रो लहरका कारण धेरै सुनचाँदी व्यवसायी संक्रमित भएका छन् भने देशभरी गरेर दर्जनौको निधन भइसकेको छ । पैसा भएर पनि गम्भीर हालतका कोभिड संक्रमित केही व्यवसायीहरुलाई बचाउन नसकेको अवस्था छ । सुनचाँदी व्यवसायिक क्षेत्रमा कयौ पदाधिकारी देखि कालिगढहरु संक्रमणका कारण अझै पनि नराम्ररी प्रभावित भएका छन् तर उनीहरुको यकिन डाटा ल्याउन नसक्नु ,सुचना संयन्त्र प्रभाकारी नहुँदा के कसरी उपचार हुँदैछ ,अक्सीजन,आइसीयूको व्यवस्थापन कसरी भइरहेको छ यसबारेमा कुनै पनि संस्थागत पहल र सहयोग हुन नसक्नु विडम्बनानै बनेको छ । सायद महासंघहरुबाटै कोभिडसँग लड्ने कुनै राम्रोे संयन्त्र बनाउन सकिएको खण्डमा अक्सीजन देखि,औषधी,अस्पताल हरेक व्यवस्थापनमा सहजकारी भूमिका निर्वाह हुन सक्थ्यो तर त्यो पहल र काम हुन सकेको छैन ।

कोभिडकै कारण नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्य,उपाध्यक्ष महेन्द्ररत्न शाक्य,नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष केशर सेन्चुरी लगायतका पदाधिकारीहरु आफु संक्रमित भएको खुलेर सामाजिक संञ्जालमा सुचना आएको छ । यसरी खुलेर आउदा एक अर्कालाई चासो हुनेछ भने सरसहयोग गर्न सजिलो हुनेछ तर अझै पनि कति व्यवसायी खुलेर नआउदा अवस्था बुझ्नै धौ धौ रहेको छ । यसको लागि महासंघ र  संघहरुले कोभिडको महामारीविरुद्ध  लड्ने एउटा संयन्त्र बनाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्